दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर म्युजिक भिडियो बन्ने भएको छ । ‘ट्रिब्युट टु सारुक’ नाम दिइएको भिडियोमा सारुक र अर्की एक अभिनेत्रीको दृश्यलाई मात्र समेटिने भएको छ । तर यसमा अभिनेत्री नम्रता श्रेष्ठको दृश्यलाई समावेश नगरिने भएको छ ।
‘ह्यासट्याग माया’को छायांकन सेटमा सारुक र निर्देशक राजीव गुरुङ
निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए ।
उनले भने, “अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ । यसमा उहाँको आवरण (लुक्स) सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ ।” निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए ।
अभिनेता ताम्राकारले बर्दियाको छायाङ्कन तालिका पूरा गरेर काठमाडौँको सुरुआत गरेका थिए । बर्दियाको छायाङ्कन तालिका सकिएसँगै काठमाडौँमा छायाङ्कनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए ।