– देवेन्द्र शिखा
केहि अगाडि निश्चल बस्नेत निर्देशित नेपाली फिल्म दिमाग खराबको सार्वजनिकरुपमा हलहरुमा प्रदर्शन सुरु भयो । फिल्मले राम्रो प्रतिक्रिया पाउँदै थियो । तर यस फिल्मका कलाकार र निर्माण समूहले फिल्मले दर्शक पाउँदा पाउँदै पनि पर्याप्त सो नपाएको भनेर गुनासो गर्न थाले ।
दिमाग खराब ‘वर्ड अफ माउथ’ का आधारमा फिल्मको व्यापार अझ बढ्नेमा फिल्म निर्माण समूह आशावादी थियो । तर त्यो अवस्था रहदा रहदै पनि निर्देशक निश्चल बस्नेतको फेसबुकमा एउटा प्रेस विज्ञप्ति देखियो, जसमा मुख्यतया दुई कुराहरुबारेमा लेखिएको थियो, ‘फिल्मको कमाइ भाग लगाउँदा हलवालाहरुबाट निर्मातालाई अन्याय भइरहेको छ । चलेकै नेपाली चलचित्रलाई हटाएर भए पनि विदेशी चलचित्रलाई विना तर्क प्रशस्तै शोहरु दिने गरिएको छ ।’ यहि व्यवस्थाको कारणले फिल्म निर्मातालाई अन्याय भएको भनेर निर्देशक निश्चल बस्नेत र निर्माता रौनक बिक्रम कडेलले तेस्रो साताबाट हलहरुमा फिल्म नचलाउने र आवश्यक परेमा अरु नै माध्यमबाट फिल्म सार्वजनिक गर्ने चेतावनी दिएका थिए ।
त्यसपछि दिमाग खराब निर्माण समूह र हलवालाबिच वार्ता भएर वार्ता अगाडि बढिरहेको छ । अन्य फिल्म निर्माताहरु यो वार्ता केवल दिमाग खराबका लागि मात्र नभएर सम्पुर्ण नेपाली फिल्मकर्मीहरुको लागि रहोस् भन्ने धारणा व्यक्त गरिरहेका देखिन्छन् । तर यो वार्ता, छलफल र सहमतिले दीर्घकालिनरुपमा त्यस्तो केहि निर्णय अगाडि ल्याउला भन्नेमा धेरैलाई सन्देह छ ।
यस्तो किन भएको हो भन्ने बारेमा निकै कारक तत्वहरु रहेका छन् । जसमध्ये केहि कारकतत्वहरुको बारेमा उल्लेख गर्दा यो अवस्थाका बारेमा थप प्रस्ट हुन सकिन्छ :
१. उद्योग नबनेको नेपाली ‘फिल्म उद्योग’
भन्नलाई नेपाली चलचित्र क्षेत्रलाई उद्योग भन्ने गरिएको पनि पाइन्छ । बर्षेनी बन्ने फिल्महरु र तिनमा भएको लगानी हेर्ने हो भने त्यो नेपालका लागि राम्रै लगानीको उद्योग हो भन्न सकिएला तर त्यसले गर्ने आम्दानी हेर्ने हो भने हाम्रो निष्कर्ष फेरिन्छ । औँलामा गन्ने फिल्महरुले मात्रै आफ्नो लगानी उठाउन सक्छन् भने त्यसमा पनि एकदमै थोरैले मात्रै नाफा कमाउछन् । यसरी हेर्ने हो भने लगानी र आम्दानी, लगानी र नाफाको अनुपात एकदमै डरलाग्दो देखिएको छ । लगानी र नाफामा यति ठुलो खाडल हुनुको कारणले पनि नेपाली फिल्म क्षेत्रलाई उद्योगकारुपमा कार्यान्वयन गर्न कठिनाइ देखिएको छ ।
यसैले बर्षमा ८०-९० चलचित्र बन्ने गरेको नेपालमा अहिले ३५-४० को संख्यामा खुम्चिएको छ भने बर्षभरी बनेका फिल्महरुमा ५ वटा नाफामा जाँदा खुसी हुनु पर्ने अवस्था बनेको छ । यहि तथ्यांक हेर्ने हो भने पनि बर्षमा ३०-३५ वटा फिल्ममा गरेका लगानी बालुवामा पानी खन्याए जस्तै भइरहेका छन् ।
नाफाको यति ठुलो जोखिम भएको क्षेत्रलाई उद्योगकारुपमा परिभाषित गर्नु भन्दा पहिले गर्नु पर्ने कामको सूचि पक्कै पनि लामो छ । ति सूचिहरु बेला बेला निश्चल बस्नेतका गुनासाकारुपमा वा अवार्ड वितरणको झमेलाको रुपमा वा सेन्सरका बेढङ्का गतिबिधिकारुपमा वा बनाउनु पर्ने ऐनकानुनका सूचिरुपमा बाहिर आइरहेका छन् ।
२. थाली ठुलो बनाउने होइन, थाली नै अलग गर्ने प्रवृति
बिजनेशमा एउटा भनाइ छ, थाली ठुलो बनाउने र सबैको लाभांश बढाउने । तर नेपालमा थाली ठुलो बनाउने भन्दा पनि साना साना स्वार्थका लागि अलग अलग थाली बनाउने व्यवहार बढि देखिन्छ । त्यसको प्रत्यक्ष एक उदाहरण हो, हलवालाले नेपाली फिल्मलाई गर्ने भनिएको अन्याय ।
दिमाग खराब समूहले उठाएको मुद्दा यो फिल्मका लागि मात्रै थिएन । पहिलेबाट नै नेपाली फिल्महरुले हलवालाबाट अन्याय सहेकै हुन् । हिन्दी फिल्म सिमाहिनरुपमा नेपाली हलमा लाग्दा त्यसबाट नेपाली फिल्मलाई असर पुगेको सत्य हो । त्यसो भन्दैमा विदेशी फिल्म ल्याउनै नहुने र नेपाली फिल्म मात्र हेर्न दर्शकलाई बाध्य बनाउने कुरामा सहमत हुन सकिदैन तर चलिरहेका नेपाली फिल्मलाई कटौति गरेर हिन्दीलाई शो बढाउनु कदापि पनि न्यायपुर्ण होइन ।
चलिरहेका नेपाली फिल्महरु हटाएर वा शो घटाएर हिन्दी फिल्मलाई बढावा दिनु एकमात्रै कारण हो, हिन्दी फिल्मबाट आउने नाफा । नेपालमा हिन्दी फिल्मलाई एकमुस्ट रकम तिरेर ल्याइन्छ भने नेपाली फिल्मको आम्दानी बाढ्ने शर्तमा हलमा चलाइन्छ । सिनेमावालाहरु नै हिन्दी फिल्मका नेपाली वितरक पनि बनेको अवस्थामा आफ्नै लगानीमा ल्याइएको फिल्मलाई बढि शो दिने गरिन्छ जसको प्रत्यक्ष मारमा पर्छन् नेपाली फिल्म निर्माताहरु । त्यस्तै हिन्दी फिल्म नेपालमा प्रदर्शन गर्न गरिने लगानी पनि अकासिदै गएको छ ।
सोही रकम नेपाली फिल्ममा लगानी गर्ने हो भने पक्कै पनि राम्रा फिल्महरु बन्ने थिए । नेपाली फिल्म क्षेत्रको नयाँ सम्भावना खुल्ने थियो । तर तत्कालका लागि ससाना फाइदामा अल्झिएर एकअर्कालाई भरथेक गर्ने व्यवहार अहिलेसम्म कमैमात्रामा देखिएको छ ।
३. साझा समस्यामा एक बन्न नसकेको फिल्म क्षेत्र
विभिन्न कारणमा बाढिएका फिल्म निर्माताहरुले कहिलै पनि सामूहिकरुपमा आफ्ना समस्याहरूका समाधान खोजेको देखिदैन । अहिले दिमाग खराब निर्माता समूहले कस्तो वार्ता गर्ला भनेर फड्के किनाराका साक्षीमात्रै बसिरहेका फिल्म निर्माताहरु पनि भेटिन्छन् । यसले सामूहिक समाधानका लागि पक्कै पनि सहयोग गर्दैन ।
दिमाग खराब समुहले जुन किसिमको विद्रोह गर्यो, जुन किसिमको जोखिम उठायो, त्यहि किसिमको विद्रोह अरु फिल्म निर्माताहरुले पनि उठाउनै पर्छ । हेर्दा यो समस्या र विद्रोह दिमाग खराब समूहको जस्तो मात्रै देखिए पनि यो सामूहिक समस्या हो र यो समस्याको कस्तो समाधान निस्किन्छ भन्ने कुराले अन्तत: नेपाली फिल्म क्षेत्रलाई डोहोर्याउँछ । त्यसैले फिल्म निर्माता, वितरक र हलवाला सबैको सामूहिक फाइदा हुने गरि समाधान निकाल्न सामूहिक प्रयासको आवश्यकता छ । यसका लागि साझा समस्या भोग्नेहरु एकठाउँमा आउनै पर्छ ।