– देवेन्द्र शिखा
निश्चल बस्नेत कुनै चिनिएको नाम थिएन । लुट बन्दै गर्दा पनि उनको नाम परिचित होइन । लुट प्रदर्शन भएको केहि हप्तामा पनि उनीप्रति मानिसको आकर्षण थिएन । तर जब लुट प्रदर्शन भएको दिन बित्दै गयो, तब हेरेका दर्शकहरुबाट लुटको प्रचार फैलियो ।
निश्चल बस्नेतले लुट त्यो बेला बनाए, जति बेला नेपाली फिल्मी क्षेत्रलाई संकटकाल घोषणा गर्नु पर्छ भनेर फिल्मकर्मीहरु नै आवाज उठाउँथे । नेपाली फिल्म नचल्नुको कारण विदेशी फिल्महरुलाई मानिन्थ्यो । दर्शकहरु नेपाली फिल्म भन्ने बित्तिकै नाक खुम्च्याउँथे । दर्शकहरुबाट सकारात्मक समिक्षा फैलिन थाले पछि लुट नहेर्ने शहरिया मानिस पाउन मुस्किल भयो । मल्टिप्लेक्समा मात्र होइन, सिंगल स्क्रिनहरुमा पनि लुटका दर्शकहरुको भिड बढ्यो । दुई पल्ट, तीन पल्ट लुट हेर्नेहरु थपिन थाले ।
निश्चल बस्नेतको लुट जब चल्यो, तब मक्किएर खिइसक्यो भनेको नेपाली फिल्म क्षेत्रले त्राण पायो । नेपाली दर्शकहरुलाई नेपाली फिल्ममा तान्नै सकिदैन भन्ने भ्रमको पर्दा च्यातियो । ५ वटा फाइट, ५ वटा गीतको सुत्रभन्दा बाहिर फिल्म बन्न सक्छन् र ति नेपाली फिल्म चल्न सक्छन् भन्ने नयाँ सोच बढ्यो ।
अहिलेका चर्चित कलाकार दयाहाङ राईमात्र होइन, हाकु कालेकारूपमा सौगात मल्लको अभिनयले नेपाली फिल्म जगतमा नयाँ कलाकारहरुको सम्भावनाको नयाँ अवसर सुरू भयो । नयाँ कथाकार, नयाँ पटकथाकार, नयाँ फिल्म सेट, नयाँ प्राबिधिक, नयाँ किसिमले कथा भन्ने तरिका, नयाँ किसिमको संवाद, नयाँ किसिमका चरित्र र कलाकार, सबै सबै लुटले सम्भावनाको ढोका खोल्यो ।
भन्दा आतिशयोक्ति हुदैन कि लुट नचलेको भए अहिले बन्ने गरेका किसिमका नेपाली फिल्महरु बन्न अझै धेरै समय पर्खिनु पर्थ्यो । तर निश्चल आए । जोखिम उठाए । चलनमा रहेको फिल्म निर्माणको शैलीप्रति आक्रामक बने । आफु मात्र चलेनन् । नयाँ नेपाली फिल्मका धेरै कुरामा नयाँ ट्रेन्ड सेट गरे । नेपाली फिल्म क्षेत्रलाई नयाँ लहरमा तरङ्गित बनाए । नेपाली फिल्म क्षेत्रले भन्नु पर्ने कथाका लागि नयाँ ठाउँ खोजिदिए । ‘लुट जस्तै’ धेरै फिल्म बने । लुट जस्तै गरेर धेरै फिल्म बने ।
त्यसपछि निश्चल बस्नेतप्रतिको आकर्षण र दर्शकहरुको विश्वास ह्वात्तै बढ्यो । उनले त्यसलाई सक्दो ‘क्यास’ पनि गरे । उनले थप जोखिम बोकेनन् । लुटको दोस्रो भाग बनाए । उनी डान्सर बने । उनी अर्काको कथामा निर्देशक बनेर फिल्म बनाए । उनी कलाकार बने । छिटफुट गीतहरुमा काम गरे । लुट पछिको लामो अवधिमा निश्चल बस्नेत धेरै थोक बने तर निश्चल बस्नेत बनेनन् ।
अनि उनको दिमाग खराब भो । उनले दिमाग खराब बनाए । राजनीतिक बिषयबाट बनेका नेपाली फिल्महरुले कमाउन युद्ध लड्नु परेको र ढल्नु परेको अवस्थामा उनले त्यहि बिषय रोजे । उनले फिल्मको बिषयवस्तु जे भए पनि प्रस्तुती र कथाले दर्शकलाई हलसम्म तान्न सक्छ भन्ने दिमाग खराबबाट पनि प्रमाणित गर्दैछन् । फिल्म चल्दैछ ।
निश्चल बस्नेतको फिल्म हो, बक्स अफिस राम्रै गर्छ । नियमित र सामान्य कुरा भयो । यसैले निश्चल बस्नेतको यो समय फिल्ममा दर्शक आए भनेर मात्र अर्थपुर्ण बन्दैन । उनलाई ‘ट्रेन्ड सेटर’ बनाउँछ, फिल्म प्रदर्शनको कुराले ।
निश्चल बस्नेतले हलवालाहरुबाट नेपाली फिल्म र नेपाली फिल्म निर्माताहरुप्रति भएको अन्यायको बिरोध गरे । बोलीले मात्र होइन । न्याय भएन भने फिल्म हलमा चलाउँदिन, अरू नै कुनै माध्यम खोज्छु भनेर अडान लिए ।
उनकै अडानका कारण आज चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । अब नेपाली चलचित्र निर्माताले हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन् । यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर, तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे । हलमा नेपाली फिल्मले सित्तैमा ३ मिनेटको ट्रेलर देखाउन पाउने भएका छन् । यसअघि डेढ मिनेट मात्रै पाउँथे । त्यस्तै, हलमा फिल्मले पोस्टर राखेको पैसा फिल्म निर्माताले तिर्न नपर्ने भएको छ । यसअघि त्यसको पैसा पनि हलवालालाई तिर्न पर्थ्यो ।
यसपटक दिमाग खराब मार्फत निश्चल बस्नेतले सम्पुर्ण नेपाली फिल्म निर्माताको पक्षमा नयाँ ट्रेन्ड सेट गरेका छन् । अन्यायप्रति आवाज उठाउन, अडान लिन र जोखिम उठाउन तयार हुन सिकाएका छन् । उनीमार्फत जुन सहमति भएको छ, त्यसले सबै नेपाली फिल्म क्षेत्रलाई फाइदा हुनेछ । पक्कै पनि यो सबैमा हलवाला पनि पर्छन् ।
यो सबै लेख पढिसक्दा निश्चल बस्नेतका लागि बढि तारिफ भयो भन्ने कसैलाई लाग्ला । तर लुट बनाउँदा होस् वा दिमाग खराब चलाउँदा होस्, निश्चल बस्नेतले महान जोखिम उठाएकै हुन् । त्यसमा सफल भएकै हुन् र नेपाली फिल्म क्षेत्रमा नयाँ ट्रेन्ड सेट गरेकै हुन् । यसैले निश्चल बस्नेत नेपाली फिल्म क्षेत्रका ट्रेन्ड सेटर हुन् । धन्यवाद ।