यस वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’मा भुटानी अभिनेत्रीले अभिनय गर्ने भएकी छन् । आज बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले भुटानी चलचित्र निर्मात्री, अभिनेत्री तथा निर्देशक उगेन छोदेन चलचित्रमा भित्रिएको जानकारी गराएको हो ।
उगेन छोदेनले यो चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा उगेनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिने र अभिनेता पल शाहसँग अभिनेत्री वर्षा राउतको जोडी बाँधिने निर्देशक लामाले बताए । यही फागुन २८ गतेबाट छायांकनमा जान लागेको चलचित्रमा बुद्धि तामाङको पनि प्रमुख भूमिका रहनेछ ।
निर्देशक लामाले चलचित्रमा उगेन भुटानी नागरिककै भूमिकामा रहने बताए । ‘उहाँसँग मेरो एक फिल्म फेस्टिभलमा भेट भएको थियो । त्यहाँ उहाँले अभिनय गरेको चलचित्र हेर्ने मौका पाएको थिएँ,’ निर्देशक लामाले बताए ।
अभिनेत्री उगेनले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । भुटानमा विदेशी चलचित्र प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली चलचित्र हेर्ने गरेको उनको भनाई छ । ‘राजेश हमाल, पल शाह, दयाहाङ राईको भुटानमा ठूलो क्रेज छ । नेपाली चलचित्र भुटानी दर्शकले निकै मन पराउँछन्,’ उनले नेपाली भाषामा भनिन् ।
उनले भनिन्, ‘दयाहाङ राई मेरो फेभरेट अभिनेता हुनुहुन्छ । मलाई उहाँको ‘घामपानी र कबड्डी’ निकै मनपर्छ । ‘कबड्डी’ हेरेपछि त म उहाँको फ्यान भएकी थिएँ । आज उहाँसँगै स्क्रिन साझेदार गर्ने अवसर पाउँदैछु । म आफूलाई भाग्यमानी ठान्छु ।’ अभिनेता दयाहाङले उगेनसँग स्क्रिन साझेदार गर्न आफू उत्साहित रहेको बताए ।
एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।
किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । यो चलचित्र आउँदो बर्ष २०७७को जनैपूर्णिमामा रिलिज हुनेछ ।