राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु हलमा पुगेका थिए ।
नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।
फिल्म हेरेपछि नेता खनालले भने–‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ ।’
फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मलाई बन्देप्रसाद र तारा थापा ’किम्भे’ ले सम्पादन गरेका छन् । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।