यस वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’को छायाँकन सुरु भएको छ । पोखराबाट चलचित्रको छायाँकन सुरु भएको हो । ३५ दिने सेड्युलमा सुरु भएको छायाँकन पोखरा र यसको आसपास नै हुने निर्माण पक्षले जनाएको छ । चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो सट दिएका छन् ।
उगेन छोदेनले यो चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा उगेनको जोडी अभिनेता दयाहाङ राईसँग र अभिनेता पल शाहको अभिनेत्री वर्षा राउतसंग जोडी बाँधिदै छ। चलचित्रमा बुद्धि तामाङको पनि प्रमुख भूमिका रहनेछ । दया र पल पहिलो पटक स्क्रिनमासंगै देखिदै छन् । यसमा यी दुइ मित्रको भूमिकामा निर्वाह गर्दैछन् । चलचित्रका मुख्य दुई कलाकार पल शाह र वर्षा राउत भने चैत पहिलो हप्ताबाट छायांकनमा जोडिनेछन् । कोरोना त्रासका कारण चलचित्रको छायाङ्कन रोक्न आग्रह गरिए पनि अहिले नै डराइ हाल्नु पर्ने अवस्था नरहेको भन्दै चलचित्र ‘परदेशी २’, ‘ए मेरो हजुर ४’ को छायाङ्कन भइरहेको छ र अब यसमा ‘२ नम्बरी’ पनि थपिएको छ ।
एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।
किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । यो चलचित्र आउँदो बर्ष २०७७को जनैपूर्णिमामा रिलिज हुने छ ।