निर्देशन रमित ढुंगानाको निर्माणमा तयार भएको चलचित्र‘नमेटिने घाउ’मा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (डबिङ) गरेका छन् । शनिबार अनामनगरस्थित एक स्टुडियोमा प्रधानमन्त्री ओलीले डबिङ गरेको उनको सचिवालयले जनाएको छ । चलचित्रमा उनले प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् । छायांकन हुँदा भने उनी प्रधानमन्त्री थिएन ।
चलचित्र एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । यो चलचित्र अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका हुन् । मुस्कान खातुनमाथि २०७६ भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । चलचित्रले ३३ जना एसिड आक्रामणका पीडितको कथालाई उठाएको छ । चलचित्रमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन् ।
आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, आरती आचार्य, प्रभात पाल ठकुरी, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, अखिल बजगाईंसहित दर्जनौं प्रहरीहरुको पनि अभिनय छ ।