प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट २४ सेकेण्ड लम्बाईको ट्रेलरमा एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ ।
निर्देशक, निर्माता तथा अभिनेता रमित ढुङ्गानाले भने ‘विसं २०७७ मा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको हो’। अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको चलचित्रले एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा उठाएको छ । यसमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, एलिसा गुरुङ आदिको अभिनय रहेको छ ।चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।
चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गरेका छन् ।ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । यो चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।