चलचित्र ‘आँखा’ असोज ११ मा सोलो रिलिज

सामाजिक विषयवस्तुमा तयार चलचित्र ‘आँखा’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनि लामा सिनेमाजले शनिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अन्य कुनै पनि नेपाली चलचित्रले मिति तोकेका छैनन् । यो चलचित्रले असोज ११ मा सोलो रिलिजको अबसर पाउनेछ ।

चलचित्रको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभुमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर-समानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ । निर्देशक जौन योन्जनले पोस्टरमार्फत फिल्मले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोस्टरले दिन्छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । यो फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको चलचित्रलाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको चलचित्रको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह-निर्मातामा रेनुका कार्की ढोली छिन् ।

चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । चलचित्रमा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ । निर्देशक योन्जनले ‘आँखा’ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो चलचित्रले बोकेको बताए । योन्जन यो फिल्मपछि ‘रोल नम्बर १’ नामको अर्को चलचित्रको तयारीमा छन् ।

Leave a Reply