चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन

चलचित्र पत्रकार संघ नेपालको विदेश शाखा अन्तर्गत युएईमा शाखा गठन भएको छ । संघको पहिलो विदेश शाखाको रुपमा बरिस्ठ रंग पत्रकार कमल श्रेष्ठको संयोजकत्वमा दुबई च्याप्टर गठन भएको हो । संघका केन्द्रीय अध्यक्ष समीर बलामी र महासचिव रघुनाथ सापकोटा सिएनए इन्टर्नेशनल अनर अवार्डमा सहभागी हुन दुबई गएको मौकामा संघको दुबई च्याप्टर गठन गरेको संयोजक कमल श्रेष्ठले बताए ।

पछिल्लो समय दुबई कलाकारहरुको केन्द्र बिन्दु जस्तै बनेको छ । भिडियो, छोटा चलचित्र र नेपालबाट चलचित्र खिच्न आउनेको पनि दुबईमा बाक्लै उपस्थिति छ । दुबई मै पनि भिडियोहरु निर्माण हुन थालेको छ । विकेन्ड र विदाका दिनमा राष्ट्रिय कलाकारहरु उपस्थित नहुने दिन नै हुँदैन । हरेक दिन जसो दुबई, आबुधावी र सार्जाहमा निरन्तर कार्यक्रम र गतिविधिहरु आयोजना हुने गरेको छ । यसलाई मध्य नजर गर्दै नेपाली कला, साहित्य, मनोरन्जन, चलचित्र, गीत संगीतको प्रचार प्रसार तथा प्रवर्द्वनका लागि चलचित्र पत्रकारिताको अपरिहार्यता रहेकोले दुबईमा संघको च्याप्टर गठन गरेको केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।

कमल श्रेष्ठ संयोजक रहेको संघको युएई (दुबई) च्याप्टरमा सचिव अनुराग परिहार र सदस्यहरुमा सन्नी प्रधान, खिमलाल पाण्डे, केशव कटवाल, चित्र तामाङ, राम गुरुङ, देबु अर्याल लगायत रहेका छन् । गठित च्याप्टरले ६ महिना भित्र साधारण सभा गरी पूर्ण कर्यसमिति बनाईने संयोजक कमल श्रेष्ठले बताए । कार्यक्रममा दुबईमा रहेका पत्रकारहरु, नेपाल पत्रकार महसंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटा, निवर्तमान अध्यक लक्ष्मण खनालसहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply