चर्चित संगीतकर्मी जोडी कमल खत्री र मेलिना मैनालीले आफ्नो पहिलो सन्तानको आगमनको खुसीमा ‘प्रेग्नेन्सी स्टोरी दिनप्रतिदिन’ शीर्षकको गीत सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत यो खुसी बाँड्दै कमलले लेखेका छन्, “हाम्रो जीवनमा अर्को सुन्दर पल थपिदैछ। छिट्टै हामी आमाबुवा बन्नेछौं भन्ने खुसी तपाईंहरूसँग बाँड्न पाउँदा हामी गर्वित छौं। तपाईंहरूको माया र आशीर्वादका लागि धन्यवाद।”
मेलिनाले लेखेकी छन्, “मेरो भित्र दुई मुटु धड्किरहेका छन्—मेराे र मेरो बच्चाकाे। तिमीलाई यस संसारमा ल्याउन म निकै उत्साहित छु। यो अनमोल अनुभवलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। यस यात्रा सहज बनाउन साथ दिने श्रीमान् कमललाई धन्यबाद।”
यो जोडीले आफ्नो जीवनको यो विशेष क्षणलाई गीतमार्फत उजागर गरेका छन्। कमलकै शब्द, संगीत, र स्वरमा तयार यो गीतमा मेलिना र कमल दुबै फिचर्ड छन्। भिडियोमा मेलिनाको बेबी बम्प र कमलको माया र स्याहार झल्किन्छ।
कमल र मेलिनाको यो सांगीतिक प्रस्तुति उनीहरूको जीवनको नयाँ अध्यायको प्रतीक बनेको छ। उनीहरूले २०७९ असोज १६ मा विवाह गरेका थिए।