माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन् ।
उनले भनेका छन्, “यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ कि हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ । जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो, आज म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस गरिरहेको छु ।” एक्टर टिमलाई धन्यवाद दिँदै हर्कुलसले आफ्नो सृजना उत्कृष्ट स्तरमा पुऱ्याउन प्रेरित गरेकोमा आभार व्यक्त गरेका छन् ।
“प्रदिप खड्कासँग यो मेरो पहिलो चलचित्र गीत हो, जो अत्यन्त बहुप्रतिभाशाली र साहसी छन्, र प्रतिस्पर्धात्मक पनि भन्नुपर्छ । आना सधैँ मेरो मन पर्ने र मेरो लागि भाग्यमानी व्यक्ति हुनुहुन्छ भन्ने मलाई लाग्छ । म राजबल्लभ कोइरालाको पुनरागमनका लागि शुभकामना दिन्छु, र उदाउँदै गरेको प्रतिभा दिव्यालाई पनि,” हर्कुलसले लेखेका छन् ।
उनले यस गीतकी गायिका इन्दिरा जोशीलाई पनि सम्झे, “प्लेब्याक गायनमा तपाईँ जति बहु प्रतिभाशाली कोही छैन ।” उनले गीतको मिक्सिङ गर्ने निश्चल भण्डारी र यस गीतकी रचनाकार समेत रहेकी आफ्नी श्रीमती उर्मिला गुरुङलाई समेत आफ्नो कल्पनाको चस्माबाट यो संसार अझ राम्ररी देख्न प्रेरित गरेकोमा धन्यवाद दिए ।
यो गीत स्टुडियो डिएचबिमा उत्पादन गरिएको हो भने म्युजिक एरेन्ज पनि बस्नेत आफैँले गरेका हुन् । गीतमा सुपरस्टार प्रदिप खड्का तथा दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीको अभिनय छ । किरण थापाले कोरियोग्राफी गरेका छन् । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।
चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
‘एक्टर: टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।
गीत: