अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ यही शुक्रबार (माघ ११) देखि प्रदर्शनमा आउने तयारीमा छ। चर्चित डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनको निर्देशनमा तयार भएकाले फिल्मप्रति दर्शकमा चासो र अपेक्षा उच्च छ।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा चलचित्रको अग्रिम बुकिङ खुलिसकेको छ। क्यूएफएक्सले १६ वटा हलमा फिल्मलाई ६० शो दिएको छ, जसमा काठमाडौं उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ शो रहेका छन्। सोलो रिलिज भएकाले फिल्मले पर्याप्त शो पाएको देखिए पनि ती शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती रहेको छ। क्यूएफएक्स चेनबाहेकका मल्टीप्लेक्समा भने फिल्मको बुकिङ खुल्न बाँकी छ । मंगलबार साँझसम्म देशभरका सबै मल्टीप्लेक्समा बुकिङ खुलिसक्ने वितरकले जनाएका छन् । क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन चलचित्रका कार्यकारी निर्माता भएकाले पनि यो चेनमा सबैभन्दा चाँडो बुकिङ खुलाइएको हो । तर, फिल्मको बुकिङ अपेक्षित देखिएको छैन ।
चलचित्र पहाडी र मधेशी समुदायबीचको मेलमिलापको कथामा आधारित छ। नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर लगायतका कलाकारहरूको अभिनय रहेको फिल्म दीपेन्द्र गौचनकै लेखन र निर्माणमा तयार भएको हो।