चलचित्र ‘ताण्डवम्’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको यो चलचित्रको ट्रेलर सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भइरहेका चलचित्रभन्दा फरक र युनिक देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा बनेको यो चलचित्रले दर्शकमाझ कौतुहलता जगाउने संकेत गर्छ । “त्यो रात के भयो?” भन्ने संवादबाट सुरु भएको ट्रेलर “भगवान पनि म, अनि राक्षस?” भन्ने शक्तिशाली संवादसहित टुंगिन्छ । यसले चलचित्रलाई सस्पेन्स र थ्रिलरको अनुभव दिन सफल बनाएको देखिन्छ ।
निर्देशक जुनिम गहतराजका अनुसार यसअघि सार्वजनिक भएका प्रचार सामग्रीले दर्शकमाझ राम्रो प्रभाव पारिसकेको थियो, जसले गर्दा ट्रेलरले पनि मन जित्ने उनको विश्वास छ । चलचित्रले नव विवाहित जोडीको कथा प्रस्तुत गर्छ, जसले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहेका हुन्छन्, तर अप्रत्याशित घटनाले उनीहरूको जीवनमा ठूला उतारचढाव ल्याउँछ । पारिवारिक भावना र एक्सनलाई मिश्रण गरी तयार पारिएको यो चलचित्र महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गते नेपालभरका चलचित्र हलहरूमा प्रदर्शन गरिनेछ ।
सिंहदेवी प्रोडक्सन र भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको यस चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक रहेको छ । अनिरुद्ध आत्रेय र हुसेनले चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् ।