तीनदिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न

चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मि सशक्तिकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवको तेस्रो तथा अन्तिम दिन वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भयो। यस महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा नेपाली सिनेमाको ऐतिहासिक धरोहर मानिएको ४६ वर्षअघिको चलचित्र सिन्दुर प्रदर्शन गरिएको थियो। साथै, सो चलचित्रका प्रमुख कलाकारहरूको ललितकलाद्वारा तयार पारिएको विशेष मुहारचित्र उनीहरूलाई समर्पण गरिएको थियो।

महोत्सवको दोस्रो दिन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त दिन महिलाले महिलाको विषयमा निर्माण गरेका लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो। त्यस अवसरमा निर्देशकहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गरिनुका साथै चलचित्रमा नारी विषयमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का लगायतसँग विशेष संवाद गरिएको थियो। समापन दिनमा प्रत्यक्ष महिलाप्रधान नाटक दृश्य परिदृश्य मञ्चन गरिएको थियो। साथै, नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न विधाका सातजना महिला स्रष्टाहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा –
१। करिश्मा मानन्धर – अभिनेत्री
२। रश्मी भट्ट – अभिनेत्री
३। शोभा श्रेष्ठ – श्रृंगारक
४। गीता अधिकारी – चलचित्र पत्रकार
५। सरिता साह – कलाकार तथा निर्देशक
६। पशुपति राई – अभिनेत्री
७। थिन्ले ल्हामो – अभिनेत्री

समापन समारोहमा नेपाली चलचित्र उद्योगका वरिष्ठ तथा चर्चित कलाकार, निर्देशक, संगीतकार, निर्माता, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दिपकराज गिरी, दिपाश्री निरौला,
जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षार्सिह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की
लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महिला सशक्तिकरण समितिको यो पहलले नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदानलाई सम्मान गर्दै आगामी दिनहरूमा थप सशक्तिकरणका कार्यक्रमहरू आवश्यक रहेको सन्देश प्रवाह गरेको छ। महोत्सवमा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्दै यसको निरन्तरताको कामना गरेका थिए।

Leave a Reply