चलचित्र विकास बोर्डद्वारा आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धनको लागि ३४ लाख ५० हजार सहकार्यको सम्झौता

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय संघसंस्थासँग सहकार्य गर्दै मातृभाषी चलचित्र प्रवर्द्धनका लागि ३४ लाख ५० हजार रुपैयाँको बराबरको सम्झौता गरेको छ।

सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसी, बोर्डका पदाधिकारीहरू, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधिहरू, र विभिन्न जातीय संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रम अन्तर्गत निम्न १५ संघसंस्थाहरूलाई सहकार्यको एकमुस्ट ३४,५०,००० रुपैयाँको बजेट स्वीकृत गरि सम्झौता गरिएको छ । सहकार्यको सम्झौता भएका संस्थाहरूमा आदिवासी जनजाति चलचित्र महासंघ, थारू चलचित्र तथा सांस्कृतिक संघ, तामाङ चलचित्र संघ, मगर चलचित्रकर्मी संघ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ , धिमाल चलचित्रकर्मी संघ, माझी चलचित्रकर्मी संघ, गुरुङ फिल्म एशोसिएसन नेपाल , भुजेल चलचित्रकर्मी संघ, किरात राई चलचित्रकर्मी संघ,याक्थुङ्ग मुन्चईत चोक सयङ, थामी चलचित्र संघ, नेवास् फिल्म सोसाइटी, शेर्पा चलचित्र संघ नेपाललाई प्रवर्द्धनको जिम्मेवारी सहित बिभिन्न शीर्षकमा सहकार्यको सम्झौता गरेको हो ।

यस सम्झौताले मातृभाषा चलचित्रकर्मीहरूलाई हौसला प्रदान गरेको सम्झौतापछि मातृभाषी चलचित्रकर्मीहरूले बताएका छन् । आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मी महासंघका पूर्व अध्यक्ष अमृत बहादुर सुनुवारले चलचित्र विकास बोर्डले मातृभाषी चलचित्रको प्रवर्द्धनमा चालेको कदमप्रति खुशी व्यक्त गरेका छन् । उनका अनुसार, ूयो कार्यक्रमले विविध भाषाका चलचित्रलाई बजारमा स्थापित गर्न सहयोग पुग्नेछ र नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउनेछ।ू

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार यो कार्यक्रमले नेपाली चलचित्र उद्योगमा विविधताको प्रवर्द्धन गर्नेछ। संयोजक सुनील मानन्धरले मातृभाषी चलचित्रलाई अझ बलियो बनाउन आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। यस पहलले आदिवासी, जनजाति भाषाका चलचित्रलाई मुख्यधारामा ल्याउने अपेक्षा गरिएको छ। आगामी वर्षहरूमा यो कार्यक्रमलाई
अझ प्रभावकारी रूपमा विस्तार गर्ने बोर्डको योजना रहेको छ।

Leave a Reply