काठमाडौं – अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन्। उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेड लाइन फिल्मस् प्रा.लिले जानकारी दिएको छ।
पारिवारिक कामका लागि दीलिप केहि समयअघि अमेरिका प्रस्थान गरेका थिए। उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन्। दिलिप नेपाल फर्किनासाथ केहि मिडियामा अन्तर्वार्ता, भेटघाट र दर्शक भेटघाटमा व्यस्त हुने निर्माण कम्पनिले जनाएको छ। ‘हेल्लो काँशीराम आगामी जेठ२ गतेबाट देशभरका हलमा एकसाथ सार्वजनिक हुँदैछ।
‘हेल्लो काँशीराम’ केहिदिन अघि मात्रै सेन्सरपास भएको थियो। यस चलचित्रलाई केन्द्रीय जाँचपास समिति (सेन्सरबोर्ड)बाट युनिभर्सल सर्टिफिकेट दिइएको छ।अब हरेक वर्गका दर्शकले ‘हेल्लो काँशीराम’ सजिलै हेर्न पाउनेछन्। त्यस्तै केहि समयअघि चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। उक्त पोस्टरमा दीलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ। निर्माता, निर्देश्क तथा अन्यकलाकारहरु भने प्रमोशनमा जुटिरहेका छन्।
रेड लाइन फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्। रिम निकै पुराना निर्देशक हुन्। यस फिल्मलाई पी.बी. थापाले लगानी गरेका हुन्।यमआलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ। फिल्मलाई मित्र डी.गुरुङले सम्पादन तथा रंगसंयोजन गरेका छन्।
फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन्। त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देकोआमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ। यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ। प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वकर्माको भनाई छ। चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्। द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीतसंयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन्।
चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ। नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माणपक्षको भनाई छ। निर्देशक विश्वकर्माले यसअघि ‘नेपालीवीर, सम्झिराखहै, रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन्। फस्टलुक पोस्टरर प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।