करिश्माले घर जान नपाएका डेरा गरी बस्नेलाई गरिन् सहयोग

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । लकडाउनका कारण धेरै मानिसहरु समस्यामा छन् । यस्तैमा, करिष्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् । उनले छिमेकमा डेरा गरी बस्ने आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गरेकी छिन् । उनले नुन, दाल, चामल जस्ता दैनिक उपभोग्य आवश्यक खाद्यान्न वितरण गरेकी हुन् । यस्तै उनले टौखेल वरपर डेरा गरी बस्ने आवश्यक परेका काठमाण्डौं बाहिरकालाई सम्पर्क गर्न आग्रह गरेकी छिन् ।उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।

करिश्माको यो अनुरोध आएपछि केही मानिसहरु उनको घरसम्म पनि पुगेका छन् । करिश्माले केहीलाई सहयोग गर्न सकेको तर पूर्ण तयारी नगरिएकाले पनि केहीलाई फर्काउन परेको भन्दै भोली गरौला समेत भनेकी छिन् । उनले, कतिपय मानिसहरु उनको स्टाटस हेरेर सातदोबाटोबाट गोदावरीसम्म हिडेर पुगेको पनि उल्लेख गरेकी छिन् । करिश्माले सबैलाई आफ्नो नजिकका परिवार, छिमेकीहरुलाई सहयोग गर्न पनि अपिल गरेकी छिन् ।

Leave a Reply