कोरोना भाइरस (कोभिड १९)विश्वभर फैलिएको छ । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः बैशाख १५ गतेसम्म लम्ब्याइएको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा मानिसहरुको जीवन प्रभावित भएको छ । दैनिक काम गरेर गुजारा चलाउनेहरु झन् समस्यामा छन् । त्यस्ता व्यक्तिहरुको लागि चलचित्रकर्मीहरुले सहयोगको हात अगाडि बढाउँदै आएका छन् । चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई पनि चलचित्रकर्मीहरुले सहयोग गरिरहेका छन् ।
यस्तैमा, केही दिनदेखि सामाजिक सञ्जालमा नायक विराज भट्टले आठ लाख सहयोग गर्ने समाचार भाइरल भइरहेको छ । धेरैले उक्त समाचार सेयर गर्दै विराजको तारिफ गरिरहेका छन् । तर, विराज आफैँले भने उक्त घोषणा गरेका होइनन् । कोही अन्जान व्यक्तिले उक्त अपवाह फैलाएको विराजले बताए । यसबारे उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा मैले ८ लाख दिन लागेको भन्ने हल्ला फैलिएको रहेछ । त्यो हल्ला कसले फैलायो मलाई थाहा भएन । तर, मैले कोरोना रोकथामका लागि अहिलेसम्म आर्थिक सहयोग दिने घोषणा गरेको छैन ।’ अहिले विराज आफ्नो परिवारसँगै बस्दै आएका छन् । उनी अभिनीत चलचित्र ‘साङ्लो’ गत वर्ष प्रदर्शनमा आएको थियो ।