– कुमार बेन
केहि महिना पहिलेको कुरा हो, नेपाल सरकारले नेपाली फिल्म क्षेत्रलाई बल्ल उद्योगको रुपमा मान्यता दिएको थियो । नेपाली फिल्म क्षेत्रका लागि यो महत्वपुर्ण कदम थियो ।
नेपाली फिल्मको इतिहास हेर्ने हो भने यो आधा दशक भन्दा पुरानो हो । लगभग ६० बर्ष भयो नेपाली फिल्म बन्न थालेको तर त्यो अवधीमा यो क्षेत्रले एउटा उद्योगका रुपमा पहिचान पाएको थिएन । बर्षमा ८० – ९० फिल्म बन्ने अवस्थामा पुगेको यो क्षेत्रमा बार्षिक करिब १ अरब रुपैया लगानी हुँदा दश हजार भन्दा बढिले प्रत्यक्ष रोजगार पाएको छ । जहाँ एउटै फिल्मले २० करोडसम्मको कारोबार गर्न सफल भएको छ । यो क्षेत्रलाई उद्योगका रुपमा मान्यता नदिनु दुर्भाग्यपुर्ण थियो ।
यसले फिल्म क्षेत्रमा भारतमा मात्रै निर्भर हुनु पर्ने अवस्थाको अन्त्य भएको छ । केहि समय पहिले मेकअप देखि एडिटिङसम्म भारतीय प्राबिधिकहरुसँग नै पुग्न पर्थ्यो । साउन्ड लगायतका कामहरु पनि भारतीयहरुले नै गर्थे तर अहिलेको अवस्था फरक छ ।
प्राबिधिकरुपमा नेपाली फिल्मका लागि आवश्यक जनशक्ति नेपालबाटै पूर्ति हुन्छ । फिल्म बनाउन पनि सजिलो हुदै गएको छ । हलहरुको संख्या बढेका छन् । प्रचारका शैली र साधनहरु थपिएका छन् । यस्तो अवस्थामा कुनै कलाकारले बर्षमा बर्षमा तिन वा चार फिल्म खेल्नु ठुलो कुरा मानिन्छ । तथ्यांकहरु हेर्ने हो भने दिपकराज गिरी र टिमले बर्षमा एउटा फिल्म बनाउछन् र खेल्छन् । उनीहरुले ६ बर्षमा ५ वटा फिल्म बनाए, सबै हिट भए । अनमोल केसीले ७ बर्षमा ७ फिल्म खेले भने प्रदिप खड्काले ५ बर्षमा ६ फिल्म मात्र खेले । उनीहरुकै कारण अहिले नेपाली फिल्म क्षेत्र धानिएको र थामिएको दृष्टिकोण राख्नेहरुको संख्या ठुलो छ ।
अब अर्को तथ्यांक हेर्नुहोस्, २०४८ सालमा एकजना अग्लो, लामो कपाल पालेको मान्छे अंग्रेजीमा एम एको पढाइ सकाएर आफ्नै मामाको फिल्मबाट डेब्यु गर्छ । त्यो बर्षभरि जम्मा ९ वटा फिल्म बनेको थियो । सुरुमा उसलाई मामाको फिल्मबाट आएको र भारतीय कलाकार मिथुन चक्रवर्तीको कपि भनेर खुब उडाए । उसको पहिलो फिल्म युगदेखि युग सम्म थियो । त्यो कलाकारको नाम राजेश हमाल थियो ।
तर जब युगदेखि युगसम्मले राम्रो व्यापार गर्यो तब निर्माता निर्देशकहरुले राजेश हमाललाई आफ्नो फिल्ममा लिन थाले । राजेश हमालले २०४९ सालमा ३ वटा फिल्म र २०५० मा पनि ३ वटा फिल्म खेले । २०५१ सालमा एकै बर्षमा २८ वटा फिल्म बने जसमा ९ वटा राजेश हमालले नै अभिनय गरेका थिए ।
त्यसपछि माओवादीको सशस्त्र युद्धले देशलाई गाँज्यो । रात्रीकालिन सोहरु बन्द हुन थाले । हाइभिजन हल भनिने साना हलहरु बन्द भए तर त्यो बेला पनि राजेश हमालका फिल्म बन्ने र चल्ने भइरहे । २०५१ देखि २०६८ सम्ममा ६५१ वटा फिल्म बनेका थिए, त्यसमा राजेश हमाल आफुले मात्रै १७७ फिल्ममा अभिनय गरेका थिए । यसरी हेर्ने हो भने त्यो बेला बनेका हरेक ४ फिल्ममा एउटामा राजेश हमाल हुन्थे ।
१७७ फिल्म मात्रै हुनुको कारण पनि राजेश हमाललाई लिनै नचाहेर होइन, बरु राजेश हमालको समय पाउन नसकेर उनी कतिपय फिल्ममा समेटिन नसकेका चै थिएँ । त्यति बेलाका निर्माता निर्देशक सबैको पहिलो रोजाइ राजेश हमाल नै हुने गर्थे । फिल्म बाहेक अन्यत्रबाट पैसा आउने वातावरण नभएको त्यो बेला राजेश हमाल अभिनित १७७ फिल्म मध्ये १०० भन्दा बढि फिल्मले नाफा कमाए । केहि फिल्म औसत रहे भने ३०-३५ फिल्महरु मात्र घाटामा गएका थिए ।
अहिले जहाँ हलबाहेक फिल्मले पैसा कमाउन सक्ने अन्य असाध्यै धेरै बाटोहरु छन्, त्यस्तोमा पनि फिल्मको समग्रमा सफल हुने दर १० प्रतिशतको हाराहारीमा छ तर त्यो बेला पनि राजेश हमालको फिल्मको सफलता प्रतिशत ८० भन्दा केहि बढि छ । राजेश हमालकै समयमा भुवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, सरोज खनाल, धिरेन शाक्य लगायतका नायकहरु सफल थिए । त्यस पछि निखिल उप्रेति, दिलिप रायमाझी, विराज भट्ट लगायतका कलाकारहरु पनि आए । ति सबैसँग फिल्म क्षेत्रमा अडिएर बस्ने एक मात्र नायक थिए, राजेश हमाल । उनीसँगै आएका र उनी पछि आएर केहि समय सफल रहेका नायकहरुमा कतिले फिल्म क्षेत्र नै छोडेर विदेशिए वा अन्यत्र लागे तर राजेश हमाल फिल्म क्षेत्रको मेसिन जस्तो निरन्तर काममा लागिरहे । दर्शकको मनमा बसिरहे ।
यो बिचमा राजेश हमालले सबै राम्रै राम्रो गरेका थिए भन्ने पनि होइन । उनको नराम्रो भनेको उनले फिल्म खेले मात्रै । उनले कस्तो फिल्म खेल्ने र कस्तो नखेल्ने भन्ने मानक नै बनाएनन् । जुन समय छ र प्रस्ताव आउँछ भने उनले कुनै पनि फिल्मलाई नाइँ भनेनन् । अवस्था कस्तो भयो भने, कुन फिल्म खेल्दैछु भन्ने उनलाई जानकारी सम्म नहुने भयो तर त्यो अवस्थामा पनि उनका फिल्महरु हेर्न दर्शकहरु हलसम्म पुगे । पोस्टरमा उनको अनुहार मात्रै देखिए पनि दर्शकका लागि त्यो फिल्म नै राजेश हमालको बन्यो ।
फिल्म छानेर खेलेनन् भन्ने आरोप बिल्कुलै खण्डन गर्नु पर्ने आरोप होइन तर त्यो बेला, जति बेला फिल्म बन्न नै कम थिए अनि भारतीय प्राबिधिकहरुमा भर पर्न पर्थ्यो, त्यो समयमा धेरै फिल्म बन्दै गर्दा प्राबिधिकका रुपमा पनि नेपाली फिल्म क्षेत्र करिअर बन्न सक्ने क्षेत्र बन्न थाल्यो । बढि फिल्म बन्ने भए पछि प्राबिधिकहरुले नियमित काम पाउने र त्यसका लागि लगानी गर्ने अवस्था हुन थाल्यो । लगानी उठ्ने भए पछि खर्च गरेर नयाँ नयाँ प्रबिधी भित्र्याउने कम्पनीहरु खुले । नत्र सोच्नुहोस् त, बर्षमा १० वटा भन्दा कम फिल्म बन्ने अवस्था थियो भने त्यत्रो लगानी गरेर कसले त्यो शिक्षा लिन्छ र उपकरणहरु भित्र्याउँछ ? यसले नेपाली फिल्म क्षेत्रलाई स्थायीत्व दिनका लागि उल्लेख्य भुमिका खेलेको छ । फिल्मका संख्यामा मन दुखाउँनेहरुले यो पाटो पनि बिर्सनु भने हुदैन ।
अन्तमा, अहिले फिल्म क्षेत्रले उद्योगको पहिचान पाएको छ । फिल्मकर्मीहरु एउटा परिवार हौँ भन्न पाएका छन् । यो त्यो समयको योगदानको कारणले हो जब राजेश हमाल जब उच्च विन्दुमा थिए, तब पनि कसैलाई काखापाखा नगरी फिल्महरु खेलिरहे । कसैका लागि आउने बाटो बन्द गरेनन् । जब सम्पुर्ण फिल्म क्षेत्र नै उनकै वरिपरी घुम्यो र जति बेला राजेश हमालको विकल्प राजेश हमाल मात्रै थिए, तब पनि राजेश हमालले फिल्मी धरातल बिर्सिएनन् । यसैले त उनी राजेश हमाल बनिरहेका छन् । केहि बर्ष उनका फिल्महरु नआएका भए पनि उनी फिल्म क्षेत्रमा नै छैनन् भन्न मिल्दैन । उनी मिडियामा छाइरहन्छन् । जब उनी मिडियामा कुनै किसिमले आउँछन्, नेपाली फिल्म क्षेत्र त्यसमा स्वत: जोडिन्छ । भने, राजेश हमाल किन महानायक होइनन् ?