राष्ट्र बैङ्कले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको चलचित्रकर्मीहरुले स्वागत गरेका छन् । सरकारको आर्थिक नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ सार्वजनिक गरिएको मौद्रिक नीतिमा आफूहरूले पेस गरेका मागको अधिकांश बुँदा सम्बोधन भएपछि चलचित्र निर्माता सङ्घले खुसीका साथ यसको स्वागत गरेको हो ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा ‘कोभिड १९ को नियन्त्रण र रोकथामका लागि चालिएको कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायत सबै पेसा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनरतालिकिरकणको व्यवस्था गरिने’ उल्लेख छ । मौद्रिक नीतिमा चलचित्र क्षेत्रलाई समेटिएकोमा यसबारे चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘मौद्रिक नीतिमा मनोरञ्जन क्षेत्र भन्ने उल्लेख छ । यसले सम्पूर्ण मनोरञ्जन क्षेत्रलाई सम्बोधन गर्छ ।
असारसम्म तिर्न भनिएको ब्याज पौषसम्म तिर्न सकिनेछ । ब्याज तिर्न नसकेको खण्डमा त्यसैलाई साँवा बनाएर तिर्दा पनि हुन्छ भनिएको छ, यो पनि सुखद कुरा हो ।’ उनले कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा राखिएकाले अन्य थुप्रै सुविधाहरू प्राप्त हुने बताएका छन् । नीतिबाट निर्माता भन्दा बढी हल सञ्चालकहरू लाभान्वित हुने उनको विश्वास छ । बजेटले समेट्न नसकेका धेरै कुराहरूलाई मौद्रिक नीतिले समेटेको भन्दै यसको आफूहरूले स्वागत गरेको उनको भनाइ छ ।