कोरीबाटी, फागुन ८ / नेपाली फिल्म पर्वमा अभिनय समेत गरेका निशान चौहान नेपालको प्रतिनिधित्व गर्दै ‘टप मोडल वर्ल्ड २०१८‘मा सहभागी हुने भएका छन् । एप्रिल ३, २०१८ मा हुने उक्त ‘टप मोडल वर्ल्ड २०१८‘ मा ‘टप मोडल नेपाल –२०१८‘का विजेता निशान सहभागी हुन लागिरहेका हुन् । विजेतालाई आकर्षक नगद पुरष्कारका साथै विभिन्न क्षेत्रमा अवसर पनि प्रदान गरिने छ ।
संसार भरका ४० देश भन्दा पनि बढी देशहरुबाट सहभागीहरु रहने उक्त प्रतिष्पर्धालाई ‘टप मोडल‘ युकेले आयोजना गर्नेछ । ‘टप मोडल‘ भनेको युकेमा रहेका क्यान्सर पिडित बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको संस्था हो । उक्त ‘टप मोडल वर्ल्ड वाइड‘मा भोट गर्दा संकलन भएको रकम क्यान्सर पिडित बालबालिकाको स्वास्थ्य उपचारको लागी खर्चा हुने बताइएको छ ।
निशानले ‘म्यानहाटन इन्टरनेशनल नेपाल २०१६‘का मिष्टर पर्सनालिटीको उपाधी जितेका छन् भने थुप्रा विज्ञापनमा काम पनि गरेका छन् । निशानले सहयोगी सबैलाई धन्यवाद दिएका छन् भने आफ्नो लागी गौरवको कुरा भएको पनि सोमबार आयोजित एक कार्यक्रममा बताएका छन् ।