बलिउड अभिनेता सञ्जय दत्त क्यान्सरसँग जुधिरहेका बेला चलचित्र ‘शमशेरा’ को छायांकनमा फर्किएका छन् । भारतीय मिडियाले जनाएअनुसार फोक्सोको क्यान्सर भएर कोकिलाबेन अस्पताल उपचार गराइरहेका सञ्जयलाई पहिलो चरणको केमोथेरापी दिइएको छ र यसले सकारात्मक प्रतिक्रिया देखाएको छ । उपचारका लागि अमेरिका जाने तयारीमा रहेको जनाइएको थियो । अमेरिकाले उपचारका लागि पाँच वर्षको भिसा दिए पनि उनी तत्काल उपचारका लागि अमेरिका जाने सोचमा छैनन् ।
अहिले उनी कोकिलाबेन अस्पतालमा नै उपचार गराइरहेका छन् । आफूलाई क्यान्सर पत्ता लाग्नुअगाडि नै साइन गरेका चलचित्रको काम सक्ने योजना बनाएका सञ्जयले चलचित्र ‘शमशेरा’को छायांकनमा फर्किएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण चलचित्रको छायांकन रोकिएको थियो । छायांकनमा फर्किएका सञ्जल निकै खुसी र उत्साहित रहेका छन् । करण मलहोत्राको निर्देशनमा तयार हुने चलचित्रमा सञ्जय खलनायकको भूमिकामा रहेका छन् भने अभिनेता रणवीर कपुरको डबल रोल रहेको बताइएको छ । शमशेरासँगै उनको ‘केजीएफ २’को छायांकन पनि बाँकी छ ।