‘पुजारीले प्रसाद बाँड्छन् भक्तजनले कहिल्यै चासो गर्दैनन् कि त्यो प्रसाद कसले, कहिले, कसरी, के फल प्राप्त गर्न चढायो । पूर्ण आश्थाका साथ प्रसाद खाइदिन्छन् ।’
‘प्रसाद’ सिनेमाको यो संवाद पुरै सिनेमाको सार पनि हो ।
केही महिना अघि एकजना मित्रले एक कफी गफका क्रममा सुनाए ।
‘दाइ तपाइको कथा ‘सरोगेट लोग्ने’ जस्तै कथामा सिनेमा बन्दैरहेछ नि ‘प्रसाद’ ।
उनको कुरा मेरो मनमा गहिरोगरी गढ्यो । र, मेरो मनमा एउटा स्मृतिले पर्दा खोल्यो । तुलसी घिमिरेले बनाएको सिनेमा ‘दुईथोपा आँसु’ मेरो कथा हो भन्दै कसैले दाबी गरेको समाचार पढेको थिएँ । त्यस्तो नियति अहिले नदोहोरियोस् यत्ति कामना गरेँ ।
त्यही कामना सहित ‘प्रसाद’ हेरेँ भरखरै । खुब सचेततापूर्वक ।
कथा ‘सरोगेट लोग्ने’ पढेपछि खाँदबारीका एकजना शिक्षकलाई कसैले सुनाएछ तेरो जस्तै कथा लेखेछ शम्भु सुस्केरा भन्ने मान्छेले भनेर । ती शिक्षकले आत्तिएर मलाई फोन गरे । मैँले मेरो कथा पढन आग्रह गरेँ र उनको पनि मागेँ ।
एउटै विषय र बिचारमा विभिन्न साहित्य रचना हुन सक्छन् भन्ने हामी दुबैलाई ज्ञान भयो त्यसबेला । र सिनेमा हेरिसकेपछिको वर्तमान विश्वास पनि के हो भने विषय र बिचार मिले पनि भाषिक शिल्प, कला, पात्र, परिवेश र लेखाइको उद्देश्य फरक पर्नसक्छ ।
प्रसाद हेरिसकेपछिको मेरो नश्किर्ष ।
सुशिल पौडेलको कथामा सुभाष प्रोडक्सनले बनाएको सिनेमाका निर्देशक दिनेश राउतले पूर्ण न्याय गरेका छन् । २ घण्टाको सिनेमा हेर्दा हलका ९५ प्रतिसत दर्शकलाई राम्रैसँग बााँधेर राख्न सफल छ सिनेमा ।
गण्डकी प्रदेशको बागलुङ र आसपासको आञ्चलिक भाषिक लवजलाई सिनेमाका नायक नायिका बिपिन कार्की र नम्रता श्रेष्ठले उत्तिकै न्याय मात्र गरेका छैनन् पात्र अनुसारको चरित्र उत्कृष्ट ढंगले निर्वाह गरेका छन् ।
सिनेमा बनाउन जोडजाड गरिएको कथा र पटकथा जस्तो मात्र नभएर नेपाली सहित्यको एक पठनीय रचना हो ‘प्रसाद’ भन्न कुनै आग्रही भइरहनु पर्दैन ।
सिनेमामा नायक र खलनायकको भाक्कभुक्क हानाहान नभइ हुन्न भन्ने मान्यता भत्काउन अरु केही नेपाली फिल्मलेझैँ यसले पनि भूमिका खेलेको छ । त्यस्तो द्वन्द्व नभएर पनि पुरै सिनेमा एक दम्पतिको गहिरो मनोवैत्रानिक द्वन्द्व बोकेर गतिशील भएको छ ।
राम्रा नेपाली सिनेमा खोजेर हेर्ने म जस्तै दर्शकका लागि सुरुमै मेरो सिफारिस रहन्छ कि तपाइको समय र पैसाको लगानीले पुरा इज्जत पाउँछ । धोखा हुँदैन ।
सिनेमाको प्राविधिक पाटो तपाईं हाम्रा दर्शकीय पक्षले भेट्टाउँदैन । त्यो सम्बन्धित विज्ञलाई नै छाडिदिऊँ । बसको यात्रा गर्नेले यात्राको सुगमता र बस स्टाफको व्यवहार हेर्ने हो बस जुनसुकै कंपनीको होस् वा जुनसुकै कारिगरले जुनसुकै औजार प्रयोग गरेर बनाएको होस्, अर्थ राख्दैन ।
कथा दलितको नभएपनि दलितको भूमिकामा नायक बिपन कार्की अपेक्षा गरिएसरह नै जमेका छन् चरित्रमा । तर नायिका नम्रता श्रेष्ठलाई त्यस्तो चरित्रमा त्यति धेरै अपेक्षा सायद कसैले गरेको होस् । अपेक्षाभन्दा बढी नै भेटिन्छ । र, निश्चल बस्नेतले खलनायकी अवधारणाको रुप नै परिवर्तन गरिदिएका छन् सफलतापूर्वक ।
नेपाली साहित्य र त्यसलाई फिल्मीकरण गर्दा समेत कस्तो दर्शन र सभ्यता निर्माण गर्ने भन्ने अन्यौलमा बाँचेका नेपाली पाठक र दर्शक हौँ हामी । प्रसादले केही मात्रमा भए पनि त्यो अन्यौलतालाई चिरेको छ । बहस गर्न सकिन्छ यसले उत्पादन गरेको दर्शनकाप्रति ।
तीजमा भोकभोकै श्रीमान्को गोडाको पानी खान उसैलाई कुरेर बसेकी श्रीमतीका अघिल्तिर रक्सीले मातेर आएको श्रीमानको ‘आम कथा’ र त्यसले उत्पन्न गर्ने आम नेपाली महिलाको मनोविज्ञान, काठमाडौँका घरबेटीको सोच, बग्रेल्ती संचालित दोहोरीको चरित्र, लगायतका अन्य थुप्रै विषयलाई एकसाथ उठान गरेपनि भद्दा लाग्दैन सिनेमा ।
बरु सानासाना विषयभित्र नेपाली समाज अटाएर चित्रण गर्न सफल भएकै कारण छिनमा भावुकताले स्तब्ध बनेका दर्शक छिनमा हाँसोले हल गुञ्जाउँछन् ।
तसर्थ प्रसादलाई भावुकता र मनोरञ्नको मिस्रित पकवान पनि भन्न सकिन्छ । न दर्शकलाई रुवाइरहन्छ न हँसाइरहन्छ । जीवन जस्तै बनेको छ दुःख र सुखको समागम ।
‘शहरमा सबैको मन फाटेको हुन्छ कपडा जोडजाड गरेर सिलाउने र त्यसलाई छोप्ने ।’ काठमाडौँको जीवन बुझ्न काफी छ यो अर्थपूर्ण संवाद । मोफसलको अन्जान व्यक्ति वा परिवारका लागि काठमाडौँको सकसपूर्ण संघर्षको चित्रण अर्को चरित्र हो सिनेमाको ।
नारीलाई कमजोर पात्रकारुपमा साहित्य र सिनेमामा प्रस्तुत गरिन्छ धेरै जसो ।
‘बीउको अधिकार बीउसँग मात्र रहन्छ । फलको अधिकार किसानसँग सुरक्षित हुन्छ । मेरो पेटको बच्चा जन्माउने कि फाल्ने त्यो अरुको निर्णय होइन मेरो अधिकारको कुरा हो । म यस बच्चाको किसान हुँ ।’ सिनेमामा एउटी नारी पात्रको यो साहस आम नेपाली नारीको कमजोर आत्मबललाई हिम्मत बन्न सक्छ ।
तसर्थ आजको नेपाली समाजको आवस्यकता हो प्रसाद ।
निसन्तान हुनु एउटी महिलाको मात्र होइन पुरुषका लागि समेत पीडाको विषय हो भन्ने कुरा आत्मसात नगरेको नेपाली समाजलाई झस्काएको छ यसले । मुख्य कुरो त निसन्तान दम्पतिको आपसी प्रेम र द्वन्द्वको अवस्था र प्रकृतिलाई प्राकृतिक चित्रण गरिएको छ न कि सिनेमाको अभिनय जस्तो अप्राकृति होस् ।
विवाह सन्तान उत्पादन गर्नकै लागि होइन । सन्तान नभएकै कारण नारी अपूर्ण हुँदिन । श्रीमान्सँगको प्रेम, परिवारसँगको भूमिका, सम्बन्ध र समाजमा उसले निर्वाह गर्ने भूमिकाले पनि नारीलाई पूर्ण बनाउँछ ।
यस्ता कैयन समसामयिक र महत्वपूर्ण सन्देश स्पष्टसँग बाँड्न सक्नु सिनेमाको महत्वपूर्ण पक्ष हो ।
सिनेमा केबल दर्शकीय मन र आँखाले मात्र हेर्दा पनि यसको आधुनिक, दार्शनिक, सामाजिक, पारिवारिक, बैचारिक र वैज्ञानिकता प्रष्टैसँग देख्न सकिन्छ ।
सिनेमामा त्रुटी नभएको होइन । सिनेमाकी नायिकाले आफूलाई बिपद आइलाग्दा पनि छिमेकी वा घरबेटी नगुहार्नु, प्रहरी वा कानुनको सहाराको बिकल्प नभएको अवस्थामा पनि नायक नायिकालाई त्यो बाटो नदिइनु सिनेमाले अस्वाभाविक द्वद्न्द्वको बाटो पछ्याए जस्तो लाग्छ ।
तर सिनेमा हेरिरहेका दर्शकका लागि सिनेमाको अन्त्यतिर सम्भावित सडक दुर्घटनाले एउटा ठूलो त्रासको अवस्था सिर्जना गरेको छ । दर्शकको सम्भावित निराशालार्ई अर्कै संयोगतिर मोडिदिएर ९९ प्रतिसत दर्शकको मनोविज्ञान छाम्न सफल देखिएका छन् निर्देशक । र ती त्रुटीलाई भुल्न बाध्य पारेका छन् ।
तसर्थ प्रसाद एउटा उत्कृष्ट संयोगान्त नेपाली सिनेमा बन्न सफल भएको छ । बधाइ सिनेमा समुह ।
अन्त्यमा,
राम्रो कथामा राम्रो सिनेमा बनोस भनेर कामना गर्नुमा कुनै स्वार्थ वा आग्रहको उपस्थिती आवस्यक पर्दैन । नेपाली सिनेमाको उत्थान र विकास नेपाली नागरिकको कर्तब्यभित्र पर्छ भन्ठानेँ । र, यत्ति गरेँ ।