इन्डस्ट्रीमा आफूले यौन उत्पीडनको सामना गरेको प्रकृतिको खुलासा

चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले आफूले यौन उत्पीडनको सामना गरेको खुलासा गरेकी छन् । मंगलवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको प्रश्नमा उनले इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् । यो विषयमा उनले पहिलो पटक मुख खोलेकी हुन् ।

उनले लेखेकी छिन्, ‘हो, मैले यौन उत्पीडनको सामना गरेको छु । जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ त्यसबेला । तर, म उनीहरुको अनुचित कार्यको बारेमा बोल्न डराइन् ताकि तिनीहरूले अर्को पटक मसँग वा अर्को कोहीसँग भेट्नुअघि दुई पटक सोचुन् ।’ म्यूजिक भिडियोबाट करिअर सुरु गरेकी उनले कोबाट यस्तो व्यवहार सहनु परेको थियो भन्ने चाहिँ खुलाएकी छैनन् । ६ वर्ष पछि पर्दामा फेरी देखिन लागेकी उनले निषेधाज्ञाभन्दा अगाडि चलचित्र बिहे पासको छायांकन पूरा गरेकी हुन् जसमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । ‘बिहे पास’ को छायांकन सकेपछि उनले पल शाहसँग ‘को होला त्यो ?’ गीतको फिमेल भर्सनमा पनि अभिनय गरेकी थिइन् । चलचित्र र म्युजीक भिडियोको छायांकन सकेर प्रकृति अष्ट्रेलिया गइसकेकी छन् । विवाह गरेपछि उनी श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी छन् ।

Leave a Reply