नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो नयाँ प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र अब भने आउँदो चैत्र २५ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । यसअघि चलचित्रको प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेको थियो ।
शुक्रवार फेसबुकमा झरना थापाले लेखेकी छन्, ‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ४’ पूर्व घोषित मिति भाद्र १८ मा रिलिज गर्न सकेनौं । अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमति दिएकोले विस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी आशावादी छौं ।’
सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । नयाँ वर्षलाई लक्षित गर्दै रिलिज मिति तय गरिएको ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहाना संगै सलोन बस्नेत, दुर्गेश थापा,सुशान्त खत्रीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।
गत हप्ता काठमाडौंसहित तीन जिल्लाका प्रशासन प्रमुखले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न दिने निर्णय गर्यो । तर, हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले सय प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति नदिएसम्म सिनेमा हल नखोल्ने निर्णय गरेको छ । तरपनि निर्माताहरु प्रदर्शन मिति तोक्न अघि सरेका छन् ।