चलचित्र ‘जेरी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका शर्मा र ‘क्याप्टेन’ चलचित्रबाट नायिकाको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले पहिलो पटक एकसाथ चलचित्रमा देखिने भएका छन् ।
निर्देशक विवेक सुवेदीले यी दुईलाई एउटै स्क्रिनमा ल्याउन लागेका हुन् । उक्त चलचित्रको नाम रहेको छ ‘योलो’ । उपासना र आनाले चलचित्रमा काम गर्ने लगभग पक्का पक्की भएको छ । चलचित्रले मित्रताको कथा बोल्ने छ । इटालीमा चलचित्रको दृश्य कैद गर्ने निर्माण टिमको योजना छ । यसका लागि अहिले, कलाकारहरूको भिजाको तयारी चलिरहेको छ । यो चलचित्रको छायांकन अक्टुबरको मध्यबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
आनाले प्रवेश पौडेलको निर्देशनमा बन्ने एक चलचित्र साइन गरिसकेकी छिन् । तर, अनटाइटल चलचित्रको काम अगाडि बढ्न सकेको छैन । त्यस्तै उपसाना चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनमा ब्यस्त छिन् । उनी नायक आर्यन सिग्देलसँग नै दोश्रो चलचित्र ‘मिरर’मा पनि काम गर्ने तयारीमा छिन् । तर, यो चलचित्रमा उनले लिखित संझौता भने गरिसकेकी छैनन् ।