९४औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कार) मा नेपाली चलचित्रको सहभागिताका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आवेदन खुल्ला गरेको छ ।
एकेडेमीले तोकेका सबै मापदण्ड पुग्ने कागजातसहित असोज १९ गतेदेखि आउँदो कात्तिक २ गतेसम्म फिल्म दर्ता गराइसक्नु पर्ने चलचित्र छनोट समिति नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।
सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिँदैछ । हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना पर धकलिएको हो ।
महामारीका कारण रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।
अघिल्ला वर्षहरुमा अस्कार अवार्डमा सहभागी हुन कुनै पनि चलचित्र हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल कोरोनाका कारण हल बन्द भइ रिलिज हुन नसकेका चलचित्रले समेत अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने छन् । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र रिलिज रोकिएको पत्र बुझाउनु पर्ने हुन्छ ।
योसँँगै सिनेमा हलमा नलागि अनलाइन स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका फिल्म पनि अस्कारमा सहभागी हुन पाउने भएका छन् । अस्कारका लागि नेपाली फिल्म छनोट गर्ने समितिको अध्यक्ष विमल पौडेल छन् भने राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेनाको कार्यकारी समिति छ ।