रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल चलचित्र कबड्डी ४ को छायांकन सुरु भएको छ ।
दसैँ सकिएलगत्तै चलचित्रको छायांकन मुस्ताङबाट सुरु भएको छ । यो चलचित्रको छायांकनका लागि निर्देशक गुरुङ सहितको टोली चार दिन अगाडि मुस्ताङ पुगेको थियो । यस्तै, चलचित्रका कलाकार र प्राविधिक टोली बिहिबार मुस्ताङतर्फ प्रस्थान गरेको छ ।
मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । गौमायाले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक चलचित्रमा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् ।
‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको चलचित्रलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । ‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए ।
दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ ।
बासुुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ । चलचित्रको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् ।
चलचित्रको सम्पूर्ण छायांकन मुस्ताङको सेरोफेरोमा हुने बताईएको छ । यसको अघिल्ला तीन सिरिजको छायांकन पनि यही भएको थियो । चलचित्रलाई आउँदो नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।