सुजिता बस्नेत बनिन् ‘मिस युनिभर्स नेपाल २०२१’

‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन् । फाइनलमा १५ प्रतिस्पर्धी पछि पार्दै सुजिताले उपाधि जित्न सफल भएकी हुन् । उनलाई पूर्व मिस युनिभर्स नेपाल अनिष्का शर्माले ताज लगाइदिएकी छिन् । उपाधि जित्न सफल सुजिताले १० लाख नगदसहित हिरा जडित ताज पहिरिएकी छन् ।

शनिबार साँझ राजधानीको याक एन्ड यति होटलमा आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा. केशु खड्का घोषित भएका थिए ।

दोस्रो संस्करणको मिस युनिभर्स नेपाल विजेता बन्न सफल बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् । प्रतियोगीको निर्णायकमा पूर्वमिस इन्डिया ऋतुसिंह वैद्य, मेकअप आर्टिस्ट स्नेह राणा, गायिका इन्दिरा जोशी, पत्रकार सरिताश्री ज्ञवाली, पूर्वमिस नेपाल इशानी श्रेष्ठ र कर्पोरेट ट्रेनर मानसी अग्रवाल रहेका थिए ।

उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगितामा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । मिस वर्ल्डपछि प्रतिष्ठित मानिने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठ हुन् । स्वीडेनको कस्मेटिक कम्पनी ओरीफ्लेम यसपटकको मिस युनिभर्सको टाइटल स्पोन्सर हो ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुजिता विभिन्न सामाजिक कार्यमा पनि संलग्न छिन् । विदेशलाई कर्मभूमि बनाएपनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको मिस नेपाल अमेरिका पनि भैसकेकी सुजिताले बताइन् ।

Leave a Reply