तिहारमा कार्तिक १९ गतेबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिस चलायमान बनाएको छ । मल्टीस्टारर चलचित्र ‘सूर्यवंशी’ ले भारतसँगै विश्वभर जबरजस्त कमाई गरिरहेको छ । भारतीय बक्सअफिसमा चलचित्रले कमाईको मामलामा रेकर्ड नै बनाएको छ ।
२६ करोड २९ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको चलचित्रली प्रदर्शनको पाँच दिनमा सय करोडको आँकडा पार गर्न सफल भएको छ । कोरोना महामारीपछि भारतमै सय करोडको व्यापार गर्ने ‘सूर्यवंशी’ पहिलो चलचित्र बनेको छ ।
दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, चौंथो दिन १४ करोड ५१ लाख र पाँचौ दिन (हिजो) चलचित्रले ११ करोड २२ लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । प्रदर्शनको पाँच दिनमा चलचित्रको कमाई कूल १ सय २ करोड ८१ लाख पुगेको छ ।
रोहित शेट्टी निर्देशित यस चलचित्रमा अक्षय कुमार, कटरीना कैफ, जावेद जाफरी, ज्याकी श्रोफ, गुल्सन ग्रोवरको मुख्य भूमिका रहेको छ । ‘सूर्यवंशी’मा सुपरस्टार अक्षय कुमारको खतरनाक एक्सन र अभिनयलाई दर्शकले निकै मन पराएका छन् । दर्शकले चलचित्र ‘सूर्यवंशी’को क्लाइमेक्समा रणवीर सिंह र अजय देवगनको एक्सन पनि हेर्न पाएका थिए ।
यो चलचित्रले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । नेपालमा यो चलचित्रले पाँच दिनमा ३ करोडको नजिक व्यापार गरेको जानकारी प्राप्त छ । भारतबाहेक ओभरसिजमा पनि यस चलचित्रले आक्रामक कमाइ गरेको जनाइएको छ ।
निर्देशक रोहित सेट्टी र उनको टिमले दुई वर्षदेखि यो चलचित्रलाई हलमा रिलिजका लागि प्रतीक्षा गरेको थियो । मनोरञ्जन र एक्सनले भरिएको पूर्ण प्याकेज हो चलचित्र,‘सूर्यवंशी’ ।
चलचित्र ‘सूर्यवंशी’ले दर्शकलाई हलसम्म फर्काएको छ । यो चलचित्रले भारतका मात्र होइन, नेपालका दर्शकलाई पनि हलमा फर्काएको छ । कोरोना महामारीका कारण करीब २ वर्ष ठप्प रहेको नेपाली चलचित्र क्षेत्रलाई चलचित्र ‘सूर्यवंशी’ ले चलायमान बनाएको छ । यो चलचित्रले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् ।