नविन सुब्बाको निर्देशनमा चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने भएको छ । चलचित्रको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरियो । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुने यस चलचित्रले राई समुदायको कथा भन्नेछ ।
चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । चलचित्र खिच्न निर्देशक सुब्बाले अमेरिकाबाट छायाँकार झिकाएका छन् । मार्किन कापरोनले चलचित्र खिच्नेछन् ।
चलचित्र ‘नुमाफुङ’ का निर्देशक सुब्बाले दश वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । चलचित्र ‘गुड बाई काठमाडौं’ पछि निर्देशनबाट टाढा रहेका उनले ‘गाउँ आएको बाटो’ बनाउन लागेका हुन् ।
महेश राई र नविन सुब्बाको स्क्रिप्ट रहेको चलचित्रको निर्मातामा अमोद राई रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह-निर्मातामा रहेका छन् ।