‘गोर्खा वारियर २’ को छायांकन सिन्धुलीबाट सुरु

निर्देशक तथा निर्माता मिलन चाम्सको ‘गोर्खा वारियर २’ को बाँकी छायांकन सुरु भएको छ । बुधवार १ सय १७ जनाको टिम लिएर सिन्धुली पुगेका चाम्सले बिहीवार एक मन्दिरमा क्यामेरा पूरा गर्दै चलचित्रको छायांकन थालेका हुन् । चलचित्रको सिन्धुलीमा १८ दिन छायांकन हुनेछ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम दमौली जाने सेड्युल छ । कोरोनाका कारण पुनः बन्दाबन्दी भएपछि फिल्मको छायांकन रोकिएको चलचित्रको ४० प्रतिशत छायांकन भने पूरा भइसकेको छ ।

नेपाल छायांकनपछि चलचित्रलाई मलेशिया र यूकेमा पनि खिचिने बताइएको छ । चलचित्रलाई दुईवटा रेड क्यामेराबाट खिचिनेछ । वीर गोर्खालीको कथामा निर्माण हुने यो चलचित्र निर्देशक चाम्सको यो ड्रिम प्रोजेक्ट हो । लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन् । चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायत मुख्य भूमिकामा छन् ।

निर्देशक चाम्सले ‘गोर्खा वारियर’ को पहिलो पार्ट नबन्दै दोस्रो पार्ट निर्माण गर्न लागेका हुन् । दोस्रो पार्ट प्रदर्शनमा आएपछि पहिलो पार्ट निर्माण हुने उनको भनाई छ । उनले बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महंगो मानिने रोयल अल्बर्ट हलमा १० हजार दर्शकको उपस्थितिमा चलचित्रको रेड कार्पेट प्रिमियर गर्ने योजना बनाएका छन् ।

Leave a Reply