चलचित्र ‘बुलाकी’को छायांकन सकिएको छ । कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो चलचित्रको छायांकन तिहारलगत्तै डोल्पाबाट शुरु गरिएको थियो । डोल्पापछि चलचित्रलाई मुगु र जाजरकोटका विभिन्न स्थानमा खिचिएको थियो । चलचित्रको दुई गीत मात्र खिच्न बाँकी राखेर निर्माण टिम डोल्पामा छायांकन सकेर काठमाडौं फर्किसकेको छ ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा मोती बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् । जारी प्रथामाथि आधारित भएर निर्माण भएको चलचित्रको मुल कथा नै सुरक्षाको वरीपरी घुम्नेछ । यो चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाईं, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतका कलाकारको अभिनय छ ।
शिव ढकालले खिचेको चलचित्रको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनेको बताएका छन् । चलचित्रले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताएका छन् ।
रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् । चलचित्रले यही विषयलाई उठान गर्न लागेको हो ।