शुक्रवारबाट प्रदर्शनमा आएको हरर चलचित्र ‘कठपुतली’ले हलमा दर्शकको राम्रो साथ पाइरहँदा निर्माण टिमले नयाँ प्रचारको उपाय ल्याएको छ । चलचित्र हेर्ने दर्शकमध्ये एक जना भाग्यशाली दर्शकलाई आइफोन-१२ उपहार दिने योजना अघि सारिएको छ । यसका लागि दर्शकले चलचित्र हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने छ । तीमध्ये एक जनालाई आइफोन-१२ उपहार प्रदान गरिने निर्माण टिमले जनाएको छ ।
यो योजनामा सहभागि हुन एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ भने टिकट नम्बरको जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी खिचेर सबैले देख्नेगरी
मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा क्याप्सनमा #KATHAPUTALI #WINIPHONE लेख्नु पर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरिने बताइएको छ ।
भिमसेन लामाको निर्देशन रहेको यस चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको यो चलचित्रमा सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको छ ।
चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर चलचित्रभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो चलचित्र ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।