तमिल ब्लकबस्टर ‘सोरारई पोटरु’को हिन्दी रिमेक केही समयदेखि चर्चामा छ । सूर्याको मुख्य भूमिका रहेको यो चलचित्र सन् २०२० मा रिलिज भएको थियो । यसैबीच, चलचित्रको रिमेकमा अभिनेता अक्षय कुमारले काम गर्न लागेको खबर बाहिरिएको छ । यो चलचित्रको लागि बलिउड अभिनेता अजय देवगन, ऋतिक रोशन, जोन अब्राहम र अक्षय कुमार लगायतका कलाकारलाई मुख्य भूमिकाका लागि विचार गरिएको दाबी गर्ने धेरै रिपोर्टहरू बाहिर आएका थिए।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कुमारलाई अन्ततः मुख्य भूमिकामा कास्ट गरिएको छ। कुमार गत वर्षदेखि निर्माताहरूसँग वार्तामा थिए, र उनले मौखिक स्वीकृति दिएका थिए । रिपोर्टका अनुसार कुमारले इमरान हाश्मीसँग हालै घोषणा गरेको चलचित्र ‘सेल्फी’ को सुटिङ पूरा गरेपछि यो चलचित्रको छायांकन सुरु गर्ने छन् जसको छायांकन फेब्रुअरीमा सुरु हुने बताइएको छ ।
यसैबीच, कुमारले २०२२ मा थप पाँच चलचित्रको लागि सुटिङ गर्नेछन्। ‘सेल्फी’ र ‘सूरराई पोत्रु’ को रिमेक बाहेक, उनी लन्डनमा आधारित थ्रिलरमा काम गरिरहेका छन्। उनी टाइगर श्राफसँगै अली अब्बास जफरको एक्शन कमेडी चलचित्र ‘बडे मियाँ छोटे मियाँ’ मा पनि देखिनेछन्। यस वर्षका उनका अन्य प्रोजेक्टमा ‘बच्चन पाण्डे’, ‘राम सेतु’ र ‘रक्षा बन्धन’ पर्छन् । यसै वर्षको अन्त्यसम्ममा सञ्जय पुरन सिंह चौहानको चलचित्र ‘गोरखा’को छायांकन सुरु हुने सम्भावना छ ।