सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आगामी फागुन १३ गतेबाट प्रदर्शनमा आउँदै छ । कोरोना महामारी अगाडि नै यो चलचित्र रिलिजका लागि तयार भएको थियो । तर,विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास नेपालमा पनि बढेसँगै यसैलाई मध्यनजर गर्दै २०७६ साल,फागुन ३० गतेबाट प्रदर्शन गरिने भनिएको चलचित्रको प्रदर्शन रोकिएको थियो। त्यस्तै यो चलचित्रको रिलिज मिति गत माघ १९ गतेलाई पनि तोकिएको थियो । तर, कोरोनाको तेस्रो लहर फैलिए पछि सरकारले माघ ३ गतेबाट हल बन्द गर्ने निर्णय गरेपछि चलचित्र रिलिज हुन सकेन।
त्यसपछि फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले चलचित्रलाई शिवरात्रीको छेको पारेर फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । यो चलचित्र प्रदर्शन हुने मितिमा चलचित्र ‘लप्पन छप्पन २’ पनि प्रदर्शन हुने तयारीमा थियो । तर ‘म यस्तो गीत गाउँछु २’ लाई साथ दिँदै प्रदर्शन मिति सारेर आगामी फागुन २० गते तय गर्यो।
तर नेपाली चलचित्रले साथ दिएपनि ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने मितिमा ठुला ब्राण्डका तीनवटा विदेशी चलचित्र प्रदर्शन हुँदै छन् । उक्त तीन विदेशी चलचित्रसँग ‘म यस्तो गीत गाउँछु २’ प्रतिस्पर्धा गर्दै छ । फागुन १३ गतेबाट हलिउड चलचित्र ‘अनचार्टेड’, बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब चलचित्र ‘भलीमई’ प्रदर्शन हुँदैछन् । यी चलचित्रहरु ‘म यस्तो गीत गाउँछु २’ माथि ठूलो चुनौती हो।
तीन ठूला विदेशी चलचित्रका कारण ‘म यस्तो गीत गाउँछु २’ ले मल्टीप्लेक्समा ठूलो शो संख्या पाउने सम्भावना कम छ । सिंगल थिएटर र दर्शक पनि बाँडिने छ । यो अवस्थामा चलचित्रलाई बक्सअफिसमा व्यापारिक सफलता हासिल गर्न निकै ठुलो चुनौती हुनेछ ।
प्रचारमा नयाँ शैली अपनाउदै निर्माण टिमले थारु भाषा र नेवारी भाषामा चलचित्रको प्रमोशनल गीत पनि सार्वजनिक गरेको छ । सम्भवत चलचित्रको लागि थारु र नेपाल भाषामा प्रमोशनल गीत बनाएर प्रचार गरेको यो पहिलो पटक हो । थोरै समयमा पनि चलचित्रको प्रचारप्रसारमा दौडधुप गरिरहेको चलचित्रको टिम केहि दिन अघि नै हलमा पुगेर माहोल बुझ्न पुगेका थिए । उनीहरुले हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै हलका कर्मचारी र म्यानेजरसँग पनि दिनहुँ जसो भेटघाट गरिरहेका छन् । पल र पूजा चलचित्रको प्रचारका लागि अन्तरवार्ता, पत्रकार सम्मेलन देखि चर्चित टेलिसिरियल र रियालिटी शोहरुमा समेत पुगिरहेका छन् ।
चलचित्रको सार्वजनिक भएको ‘तिम्रो घरको वरिपरि’,‘दुःखको काँडा’ र ‘कसम कसम’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।