चलचित्र ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘लाखे’को मुस्ताङमा धमाधम छायांकन भइरहेको छ । चलचित्रको क्लाइमेक्स छायाङ्कनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो । मुस्ताङको कागबेनी लगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायाङ्कन भइरहेको बताइएको छ ।
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पहिलै नै पुगिसकेका थिए, भने अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा अघि मात्र पुगेका हुन्।
६ करोडको लागत अनुमान गरिएको मल्टिस्टार चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायतको अभिनय छ । गत पुष अन्तिमबाट छायांकन सुरु भएको चलचित्रको कोरोना संक्रमणलाई मध्यनजर गर्दै निर्माण टिमले एकै समयमा दुई यूनिट बनाएर छायांकन समेत गरेको थियो । एउटा चलचित्र छायांकनका लागि दुई युनिटले काम गरेको नेपालको सम्भवतः यो पहिलो हो ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।