दीपकराज लेख्छन् : “१०% मान्छे मात्रै अन्याय विरुद्ध बोल्ने साहस राख्छन्”

एक नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । यस संवेदनशील घटनाको विषयमा सुरुको समयमा अधिकांश कला क्षेत्र मौन थियो। तर पछिल्लो दिनमा भने एकपछि अर्को गर्दै कलाकारहरु आ-आफ्नो धारणा व्यक्त गर्न थालेका छन् ।

अभिनेत्री रेखा थापाले २० वर्षमुनिका नाबालिका भएकाले उनीहरुको संरक्षण गर्ने दायित्व समाजको भएको बताएकी छन् । त्यस्तै रेखाको जस्तै भनाइ अभिनेत्री ऋचा शर्माको पनि छ । समाजले नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन भन्नेमा उनी विश्वस्त रहेको समेत उनले बताएकी छन्। नाबालिगको संरक्षण कानुनको सम्मान रहेको पनि उनले उल्लेख गरेकी छन् । पुर्व मिस नेपाल श्रृङ्खला खतिवडाले भने एउटा वयस्कले नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु नै कानुन विपरित रहेको र मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुले अझै विश्वास गर्न नसकेको पनि बताएकी छन् । अभिनेत्री सञ्चिता लुइँटेलले दोषी र निर्दोष छुट्याउने काम कानून र अदालतको रहेको बताउँदै सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्ने सुझाव दिएकी छन् । अभिनेत्री लक्ष्मी बर्देवाले पनि लेखेकी छन्, “मलाइ मनपर्ने मान्छे हो,होइन । मेरो नजिक छ-छैनले यसलाई फरक पर्दैन र पर्नु पनि हुँदैन । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैमा मुर्खता हो ।”

यसैक्रममा दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै, केवल १०% मान्छेले मात्रै अन्याय विरुद्ध बोल्ने साहस राख्ने बताएका छन् । उनले अगाडी “६०% मान्छे जता भिड छ उतै लाग्छन्, तालि खान्छन् र ३०% मान्छे आफूलाई परे मात्रै बोल्छन् ” भनेर पनि उल्लेख गरेका छन् । यसअघि दीपकले, गल्लि गल्लिमा न्यायालय !! घर घरमा न्यायाधीश!!! रहेको भनेर पनि व्यंग्य गरेका थिए । सामाजिक संजालमा मानिसहरुले आफै कानून जसरी, को दोषी को निर्दोष भनेर आफ्नो विभिन्न तर्क राख्दा दीपकले यस्तो भनेका थिए र साथै यो चाहि दोषि हो ,त्यो चाहि ठिक !एउटा पक्ष संग प्रेम ,अर्कों संग रिस भनेर पनि अगाडी लेखेका थिए ।

Leave a Reply